आईजीपी रनिङ शिल्डको उपाधी गण्डकी प्रहरीद्वारा कब्जा

काठमाडौं । नेपाल प्रहरीको ४१औं आईजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० को उपाधी गण्डकी प्रदेश प्रहरीले जितेको छ ।

शनिबार काठमाडौंमा भएको समापन कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले प्रतियोगितामा विजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गरेका छन् ।

राईले प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गरेका छन् ।

निमित्त प्रहरी महानिरीक्षक राईले खेलाडीहरूबाट प्रदर्शन भएको अनुशासन, खेल कौशल र सामूहिक भावना नेपाल प्रहरीभित्रको भातृत्वभाव र स्व–अनुशासनको प्रतिविम्व भएको उल्लेख गरेका छन् ।

खेलकुदले सिकाउने यस्ता व्यवसायिक गुण र आचारणहरू आत्मसाथ गरी संगठनको वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई राईले आग्रह गरेका छन् ।

नेपाल प्रहरीमा खेलकुदलाई अझै सशक्त बनाउन नेपाल प्रहरी खेलकुद समितिबाट सम्भाव्यता खोजी हुने विश्वास राईले व्यक्त गरेका छन् ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाणपत्र, चेक, नगद पुरस्कार र ट्रफी प्रदान गरेका छन् ।

प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला तथा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपियाँ र द्वितीय हुने टिमले ५१ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय टिमका शंकर घर्ती मगर सर्वोत्कृष्ट खेलाडी, गण्डकी प्रदेश प्रहरी कार्यालय टिमका आशिष थारू सर्वाधिक गोलकर्ता र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपियाँ पुरस्कार प्राप्त गरेका छन् ।

मंसिर ६ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता रहेको थियो ।

Published : Saturday, 2023 December 2, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया