पोखरामा फुटबल, कबड्डी, खोखोका खेलहरू शुरू

पोखरा । पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका खेल शुरू भएका छन् ।

संस्थागत एवं निजी विद्यालयहरूको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावितर्फ फुटबल, छात्रा मावितह खोखो र आधारभूत तह कक्षा १ देखि ५ अन्तर्गत छात्र छात्रा कबड्डीका खेलहरू शुरू भएका हुन् ।

प्रतियोगितामा मावि छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

वेलननले शिलशिलालाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

फुटबलको सेमिफाइनल खेल बिहीबार सञ्चालन हुने आयोजकले जनाएको छ । मावि छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलशिला चौथो भएको छ ।

कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो । आधारभूत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी अन्तर्गत बुधबार पहिलो चरणका खेलहरू सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उप–समितिका संयोजक विनोदकुमार नेपालीले जानकारी दिएका छन् ।

कबड्डी छात्रतर्फ ६ र छात्रातर्फ ५ गरि कुल १२ खेलहरू सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ ।

खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमिफाइनलका खेल र आधारभूत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डीका खेलहरू जारी रहने युनिप्सका अध्यक्ष शान्तबहादुर गुरुङले जानकारी दिएका छन् ।

महोत्सवको औपचारिक उद्घाटन १४ गते बिहीबार पोखरा रंगशालामा हुनेछ । एथलेटिक्सका खेलसँगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजारभन्दा बढि खेलाडीहरूले सहभागिता जनाएका छन् । सहभागी विभिन्न खेलका ६ सय खेलाडीहरूलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

Published : Wednesday, 2023 November 29, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया