क्यानको अध्यक्षमा चन्द सर्वसम्मत, नयाँ समिति निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावबाट अध्यक्षमा चतुरबहादुर चन्द पुन: सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका छन् ।

सचिवमा पारस खड्काले जित हासिल गरेका छन् । प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै उनी सचिव निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् । लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य भएका छन् ।

कोशीबाट अर्जुन पौडेलले जितेका छन् । अर्जुनले सुनिलकुमार पौडेललाई १३ मतले हराएका हुन् । मधेश प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२/४२ भोट ल्याएका छन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

बाग्मतीबाट दीवाकर घले निर्वाचित भएका छन् । घलेले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पियाले ३६ मत पाएर पराजित भएका छन् ।

गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याएका छन् । सुदूरपश्चिममा विक्रम विष्ट ४९ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याएका छन् ।

खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याएका छन् । आयूषको ५१ र चन्दको ३४ मत आएको छ ।

पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

Published : Saturday, 2023 September 23, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया