मेसीको अनुपस्थितिमै मियामीले मेजर लिग सकर जित्यो

लण्डन । मेजर लिग सकर (एमएलएस) को खेलमा इन्टर मियामीले महत्वपूर्ण जित हासिल गरेको छ ।

इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ कानसास सिटीमाथि ३—२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।

इन्टर मियामीले आफ्ना स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा जित हासिल गरेको छ । मेसी हाल राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले आगामी विश्वकप फुटबलको छनोट प्रतियोगिता खेल्दैछ । शुक्रबार खेलिएको विश्वकप छनोट खेलमा मेस्सीकै फ्रिकिकको गोलमा अर्जेन्टिनाले इक्वाडरलाई हराएको थियो । विश्वकप छनोटको अर्को खेल अर्जेन्टिनाले बोलिभियासँग खेल्ने कार्यक्रम रहेको छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । इन्टर मियामीविरुद्धको खेलमा सुरुआती अग्रता भने स्पोर्टिङले लिएको थियो । खेल सुरु भएको नवौं मिनेटमा ड्यानियल सालोइले स्पोर्टिङका लागि पहिलो गोल गरेका थिए । खेलको २५औं मिनेटमा लियोनार्दो काम्पानाले इन्टर मियामीका लागि जवाफी गोल गरे ।

पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि काम्पानाले नै व्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि इन्टर मियामी २—१ ले अगाडि बढेको थियो । निर्धारित समयको ६०औं मिनेटमा इन्टर मियामीका लागि फाकुन्डो फारियसले तेस्रो गोल थपेका थिए ।

निर्धारित समयको ७८औं मिनेटमा स्पोर्टिङका लागि एलन पुलिडोले दोस्रो गोल थपेका थिए । उनको गोलले स्पोर्टिङलाई पराजयबाट जोगाउन सकेन ।

Published : Sunday, 2023 September 10, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया