वाग्मतीमा १९ स्वर्णसहित उमा कुङ्फुको टिम च्याम्पियन

काठमाडौं । वाग्मती प्रदेशले १९ स्वर्ण पदक जित्दै छैटौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगितामा टिम च्याम्पियन ट्रफी जितेको छ ।

नेपाल उमा कुङफु संघद्वारा शनिबार आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोस्रो भयो । तेस्रो भएको कोशी प्रदेशले ७ स्वर्ण जितेको थियो ।

प्याटर्नको पुरुषमा अपील मोक्तान र महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डा पुरुषमा दीपेश थिङ र महिलामा सुन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै जना वाग्मतीका हुन् । उत्कृष्ट चारैले जनही १५ हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

विजेतालाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । उनले वर्ल्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लूएमएसी) अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाणपत्र सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे ।

सन्जितकुमार राई पाँचौं डान, रमेश महर्जन र कमल मगर चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेस्रो डान प्रमाणपत्र प्रदान गरियो । नेपाल उमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लूएमएसीबाटै प्राप्त मानार्थ सदस्य प्रदान गरिएको थियो ।

सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमर राई तथा प्याटर्नमा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

Published : Saturday, 2023 September 9, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया