नेदरल्यान्डविरुद्ध ग्रिसले गोल हान्न सकेन

लण्डन । युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा नेदरल्यान्ड्सले ग्रिसलाई ३—० गोलको फराकिलो अन्तरले हराएको छ ।

शुक्रबार भएको खेलमा जितसँगै नेदरल्यान्ड्सले आगामी युरो कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ ।

खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सले ग्रिसलाई दबाबमा राखेको थियो । नेदरल्यान्ड्सले तीनवटै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको १७औं मिनेटमै नेदरल्यान्ड्सका लागि मार्टिन डे रुनले पहिलो गोल गरेका थिए ।

खेलको ३१ औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनाएको थियो । नेदरल्यान्डसका लागि दोस्रो गोल कोडी गाक्पोले गरेका थिए । खेलको ३९ औं मिनेटमा वट वेघोस्र्टले नेदरल्यान्ड्सलाई ३—० गोलले गोलले अगाडि बढाएका थिए ।

समूह ‘बी’ मा फ्रान्स पाँच खेलबाट १५ अंक जोडड्दै तालिकाको पहिलो स्थानमा छ । छनोट प्रतियोगितामा फ्रान्स हालसम्म अपरजित छ । तीन खेल खेलेको नेदरल्यान्डस भने ६ अंकसहित दोस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले दुई जित र एक हारको नतिजा निकालेको छ ।

चार खेलबाट ६ अंक जोडेको ग्रिस तेस्रो स्थानमा छन् । चार खेल खेलेको आयरल्यान्ड भने तीन अंकसहित तालिकाको चौथो स्थानमा छ ।

चार खेल खेलेको जिब्राल्टरले एक खेल पनि जित्न सकेको छैन । सन् २०२४ को युरो कप फुटबल प्रतियोगिता जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ ।

Published : Friday, 2023 September 8, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया