दश दिने अभियानले कांग्रेसमा उर्जा, वडासम्म चलायमान

किरण गिरी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गतेसम्म बसेको बैठकले श्रावण २० देखि ३० गतेसम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरे बमोजिम प्रतिनिधिसभा र प्रदेश सभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो । खटिएर गएका प्रतिनिधिहरूले सोही बमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिहरुसँग समन्वय र परामर्श गरि निर्धारित कार्ययोजना अनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमिति सम्मका कार्यक्रमहरु केही जिल्लामा बाहेक तोकिए वमोजिमको समयसीमा भित्रै सम्पन्न गरिएका छन् ।

प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिनुहुने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला प्रतिनिधि, कार्यक्रममा सहभागी सवै अग्रज नेताहरु, जिल्ला, क्षेत्र, प्रदेश, पालिका र वडा तहका कार्यसमितिका पदाधिकारी सदस्यहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरुमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । आन्तरिक विशेष अभियानले पार्टीको सांगठानिक अवस्थावारे विधान सम्मत भए नभएको साक्षात परिक्षण गरिएको र सो बमोजिम गर्नुपर्ने कार्य नगरिएका वा नभएका जिल्ला, क्षेत्र, प्रदेश, पालिका वा वडाहरुलाई तत्काल गर्न गराउन निर्देशन दिई पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउने महत्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको बुझाई रहेको छ ।

केन्द्रीय कार्यसमतिको बैठक र यो विशेष अभियान संचालन गर्नु पूर्व पार्टी संगठनका सदस्य, समर्थक, शुभचिन्तक र मतदाता वीच विपक्षीहरुले फैलाएका राजनैतिक एवं अन्य विभिन्न भ्रमहरु चिर्दै नेपाली कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलूकका तीनै तहका निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान कायम गर्न सफल भई संघीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण पार्टीका जिल्ला मातहतका सबै साथीहरुलाई बुझाउने काम भएको छ । जनताको दैनिक जनजीवनका समस्याहरुलाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनु पर्ने विषयहरुलाई प्रतिनिधिले आत्मसात गर्दै भ्रष्टाचार विरुद्ध, सुशासनका पक्षमा नेपाली कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र “कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन” भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कूरालाई जनसमक्ष गहिरो सँग बुझाउन विशेष अभियान सफल भएको छ ।

‘नेपाली कांग्रेसको सदस्यता’ पार्टीको वेबसाईट मार्फत ‘अनलाइन प्रक्रिया’ बाट लिन सकिने कुरा सबै तहमा जानकारी गराई पार्टीको भ्रातृ संघ र शुभेच्छुक संस्थाको विभिन्न तहमा रहेका सदस्य र हालसम्म कुनै पनि पार्टीमा आवद्ध नभएका व्यक्तिलाई समेत नेपाली कांग्रेसको अनलाइन सदस्य बन्न प्रेरित गर्ने । क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँंग एकरुपता हुने गरि सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेस वुक पेज संचालन गर्न गराउन र पार्टीको नाम, झण्डा वा चुनाव चिन्ह राखी प्रयोग भएका व्यक्तिगत फेसवुक प्रोफाईल वा पेज वन्द गर्न गराउन निर्देशन दिने काम भएको छ ।

२०७९ मा सम्पन्न स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्र (घोषणापत्र) अनुसार स्थानीय जनप्रतिनिधिहरुले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा संकल्प–पत्रको आधारमा कार्य गर्न तथा पार्टी र जनप्रतिनिधिका विचमा सहज सम्बन्ध र सहकार्यको वातावरण बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको छ । गौरवशाली ईतिहास रच्दै सात दशक पार गरेको हाम्रो पार्टी नेपाली कांग्रेसले नीति र नेतृत्व चयनमा उच्चतम् लोकतन्त्रको अभ्यास गर्दै आएको छ । यसका अनगिन्ती सकारात्मक गुणहरु हुँदाहुँदै पनि दलको अधिवेशनमा नेतृत्व चयनका लागि अपनाइएको निरपेक्ष निर्वाचन पद्दति र हरेकले आफू विजयी बन्न कोशिस गर्दा त्यसबाट उत्पन्न हुने विभिन्न समूह उप–समूहको निरन्तरता र तिनीहरु बीच हुने अस्वस्थ प्रतिस्पर्धाले दल संचालनमा देखिने असंगठित गतिविधि र यसले निम्त्याउने चुनौतिहरु साँच्चै जटिल बन्दै गएको वास्तविकता अभियानका दौरानमा प्रकट भएका छन् ।

नेपाली राजनीतिक सन्दर्भमा नेपाली कांग्रेस जनताको स्थायी विश्वास पाएको दल मान्न सकिन्छ । तथापि केही निर्वाचनहरुमा कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा कहिले आफ्नै अन्र्तकलह, कहिले साँगठानिक अव्यवस्था त कहिलेकाँही नेतृत्वको वेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेता साथीहरुको वुझाईरहेको पाइयो । सत्ता गठवन्धन गरि निर्वाचनमा भाग लिंदा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पुरानो र ठूलो लोकतान्त्रिक पार्टीले धेरै स्थानमा आफूले छोडेर अरु दलका उम्मेदवारलाई समर्थन गर्नुपर्दा अस्वभाविक ढंगले पार्टीका नेतृत्व तहकै साथीहरुमा पनि व्यापक असन्तुष्टि बढेको, निर्वाचनका वेला र तत्पश्चात पनि गठवन्धनमा आवद्ध दलहरुबीच आपसी सहयोग र समन्वयको वातावरण बनाउन नेताहरुलाई हम्मे–हम्मे पर्दापर्दै पनि हाम्रो पार्टीकोे कूशल नेतृत्व र प्रभावकारी रणनीतिले हाल नेपाली कांग्रेस तीनै तहका निर्वाचनमा विगतको भन्दा राम्रो परिणामका साथ प्रथम पार्टी बनेको कुरा सबै तहमा सकरात्मक सन्देश फैलिएको भएता पनि तत्पश्चात पार्टी भित्र र बाहिरबाट कांग्रेस पार्टी विरुद्ध फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथील भएको भनि विपक्षीले फैलाएको भ्रममा हाम्रो पार्टीका साथीहरु समेत प्रभावित भएको पाइयो ।

निर्वाचन परिणामका दृष्टिले नेपाली कांग्रेस तीनै तहमा प्रथम वा ठूलो दल कायम भई संघीय सरकारमा सहभागि छ भने अधिकांश प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । यी सफतालाई सुखद ढंगले आत्मसात गरि तीन तहका सरकार मार्फत जनतामा पार्टी र उम्मेद्वारले गरेका आफ्ना प्रतिवद्धता कार्यान्वयनको महान राष्ट्रिय अभियानमा जुट्नु पर्ने बेला पार्टीका अधिवेशन र निर्वाचनका असन्तुष्टिको भारी बोकेर जनतामा जाने प्रवृति बढ्यो । फलस्वरुप पार्टी पंक्तिमा निराशाको वादल मडारियो । यसैलाई अवसर ठानी विचार, संगठन, सवाल र नीति कार्यक्रम समेत नभएका दलहरुले गाली, विरोध र अराजक, उत्ताउलो गतिविधिको सहारामा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सात दशकसम्म वलिदानीपूर्ण क्रान्ति, संघर्ष र आन्दोलन गरेर आएका दलहरु त्यसमा पनि विशेषत: नेपाली कांग्रेसलाई अस्वभाविक ढंगले प्रहार गर्न थालिएको छभन्ने कुरा जिम्मेवार अग्रज नेताहरुको बुझाई छ । निर्वाचन पश्चात लामो समयसम्म विभिन्न तहका बैठक कार्यक्रमहरु नहुँदा पार्टीका साथीहरुले पार्टी संगठनमा देखिएका कमीकमजोरीबारे बोल्ने औपचारिक अवसर नपाएको र पार्टीबारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा यसले पार्टी पंक्तिमा निराशा फैलिएको थियो भने यो अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको छ ।

समग्रमा यो १० दिने अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सहज भएता पनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँच भन्दा वढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिहरुको गुनासोलाई मध्यनजर गरि आगामी कार्यक्रमहरु थप व्यवस्थित गर्दै लगिनेछ । अविरल वर्षा, वाढी पहिरो, डेङ्गो तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीर रुपमा प्रभावित भएकोले हाल उनीहरुको सेवामा जुट्न सम्वन्धित तहका पार्टी संगठनहरुलाई आव्हान गर्ने र भाद्र १० देखि २४ सम्म गर्ने तय भएको “समुदायमा कांग्रेस” कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा अभियानका सबै कार्यक्रमहरु सफलताका साथ सम्पन्न भयो । जिल्ला कार्यसमिति , प्रदेश क र ख दुबै कार्यसमिति , नौ वटा पालिका कार्यसमिति र ८२ वटा वडाहरुमा नेपाली कांग्रेस वडा कार्यसमिति गठन भै सञ्चालन र सक्रिय अबस्थामा रहेको पाइयो ।

(किरण गिरी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि हुन् ।)

Published : Thursday, 2023 August 24, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया