काडाले दियो नेपाललाई एन्टी डोपिङ सामग्री, इमान्दार खेलाडीहरू खुसी

काठमाडौं । कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा)ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई सहयोग स्वरूप प्रदान गरेको छ ।

आइतबार राजधानीमा डोपिङ कन्ट्रोल अफिसर्स (डीसीओ) को प्रशिक्षक प्रशिक्षणका क्रममा काडाले नेपाल ओलम्पिक कमिटी अन्तर्गतको मेडिकल कमिसनलाई १६ लाख रुपियाँ बराबरको सामग्री सहयोग गरेको हो ।

कमिटीको आयोजना तथा काडाको संयोजकत्वमा दुई दिने डीसीओ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको थियो ।

कार्यक्रमपछि अब नेपालमै डीसीओ उत्पादनका लागि प्रशिक्षणको कार्यक्रम संचालन गर्न सकिनेछ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदलाई सफा राख्नु पर्ने बताएएका छन् ।

श्रेष्ठले नेपाली खेलकुदलाई प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रयोगबाट जोगाउनु पर्ने बताएका छन् । प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रयोग रोक्ने चुनौति रहेको उनले बताएका छन् ।

काडाका सीओओ मुङ सु–किमले डीसीओ उत्पादन गर्ने जनशक्ति नेपालमै तयार भएकोमा खुसी व्यक्त गरेका छन् ।

यसअघि डीसीओ उत्पादनका लागि विदेश जानु पर्ने अथवा विदेशी प्रशिक्षक नेपाल आउनुपर्ने बाध्यता थियो ।

प्रतिबन्धित शक्तिबर्द्धक औषधि सेवन गरेर प्रतियोगितामा भाग लिने खेलाडीका लागि काडाले दिएको एन्टी डोपिङ सामग्रीले पत्ता लगाउन ठूलो सहयोग गर्नेछ । बदमास खेलाडीहरूले अब छलछाम गर्न पाउने छैनन् ।

Published : Sunday, 2023 August 6, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया