जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश

लण्डन । जापानले नर्वेमाथि सहज जित हात पार्दै महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

न्यूजिल्याण्डको स्काई स्टेडियममा शनिबार भएको खेलमा जापानले ३–१ को जित हात पारेको हो ।

सन् २०११ को विश्व च्याम्पियन जापानले १५औं मिनेटमा अग्रता लियो, जब हिनाता मियाजावाको क्रसलाई इंग्रिड एगेनले आफनै पोष्टको जाली चुमाइन् ।

नर्वेकी ग्युरो राइतनले गोल गर्दै खेललाई बराबरीमा फर्काएकी थिइन् । दोस्रो हाफमा जापान हावी भयो । ५०औं मिनेटमा रिसा सिमुजुले गोल गरिन् भने ८०औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई क्वार्टरफाइनलमा पुर्‍याइन् ।

सेमिफाइनल प्रवेशका लागि जापानले डिफेण्डिङ च्याम्पियन अमेरिका र स्वीडेनबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

उता, स्वीट्जरल्याण्डमाथि जित हात पार्दै स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

शनिबारनै न्युजिल्याण्डको इडनपार्कमा भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डमाथि ५–१ गोल अन्तरको जित निकालेको हो । पाँच दिनअघि मात्र समूह चरणको अन्तिम खेलमा जापानले स्पेनलाई ४–० ले हराएको थियो ।

स्पेनले पाँचौं मिनेटमा आइटाना बोनमाटीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा लाइआ कोडिनाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । कोडिनाले आफ्नै गोल किपरलाई पास दिएको बल पोस्ट भित्र पुग्यो ।

खेलको १७ औं मिनेटमा अल्बा रेडोन्डोले गोल गर्दै स्पेनलाई फेरि अग्रता दिलाइन् । ३६औं मिनेटमा बोनमाटीले व्यक्तिगत दोस्रो गाले गरिन् भने ४५औं मिनेटमा कोडिनाले गोल गरेपछि स्पेन पहिलो हाफमै ४–१ को अग्रता कायम गर्न सफल भयो ।

खेलको ७०औं मिनेटमा जेनिफर हेर्मोसोले गोल गरेपछि स्पेन ५–१ को जितका साथ पहिलो पटक महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । अब उसले नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच आइतबार हुने खेलको विजेतासँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

Published : Saturday, 2023 August 5, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया