समूह चरणबाटै फर्कियो जर्मन महिला टिम

लण्डन । जर्मनी महिला विश्वकप फुटबलमा समूह चरणबाटै घर फर्केको छ । जर्मनी दुई पटकको विश्वकप फुटबल विजेता रहेको थियो ।

आफ्नो समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग १–१ को बराबरीमा रोकिएसँगै जर्मनी विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको छ ।

जर्मनीलाई बराबरीमा रोकेको कोरिया समूहको पुछारमा रहँदै घर फर्केको छ । खेलको छैटौं मिनेटमा चो सु ह्युनले दक्षिण कोरियलाई अग्रता दिलाएको भए पनि जर्मनीकी कप्तान एलेक्जेन्ड्रा पोप्पले ४२ औं मिनेटमा गोल फर्काएकी थिइन् । थप गोल नहुँदा जर्मनी र कोरिया दुवै बाहिरिए ।

समूहबाट मोरक्को र कोलम्बिया नक आउट चरणमा पुगेका छन् । मोरक्कोले नक आउट चरणमा पुग्ने क्रममा कोलम्बियालाई १–० ले हराएको छ ।

नतिजापछि दुवै टिमको समान ६ अंक भए पनि कोलम्बिया समूह विजेता भएको छ । मोरक्को उपविजेता भएको छ । जर्मनीले दक्षिण कोरियालाई हराउन नसकेको फाइदा मोरक्कोलाई भएको छ । समूह चरणको पहिलो खेलमा जर्मनीसँग ६–० को हार व्यहोरेको भए पनि मोरक्को पहिलो सहभागितामा नै विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ ।

Published : Thursday, 2023 August 3, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया