एसियन गेम्समा बक्सिङमा पदक जित्नेले १० लाख पाउने

काठमाडौं । नेपाल बक्सिङ महासंघले आगामी १९औं एसियन गेम्समा पदक जित्ने खेलाडीहरूलाई नगद प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राजधानीमा बसेको बक्सिङ महासंघको बैठकले १९औं एसियन गेम्समा स्वर्ण जित्ने खेलाडीलाई १० लाख दिने निर्णय गरेको हो ।

रजत जित्नेलाई ५ लाख र कांस्य जित्नेलाई २ लाख प्रदान गर्ने महासंघको बैठकबाट सर्वसम्मत निर्णय भएको बक्सिङ महासंघले जनाएको छ ।

महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकासित गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय भएको छ ।

यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

महासंघको कोष बृद्धिका लागि महासंघका पदाधिकारीहरूबाट १५ हजार र सदस्यहरूबाट १० हजार सहयोग स्वरुप संकलन गर्ने निर्णय सर्व सम्मतीबाट निर्णय गरिएको छ ।

मासिक रुपमा पदाधिकारीहरूबाट ५ हजार र सहस्यहरूबाट ३ हजार संकलन गर्ने निर्णय भएको छ ।

महासंघको बेवसाइट, खेलाडीहरूको डाटा र दीर्घकालीन योजनाहरूलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पोखरामा भएको नेपाल बक्सिङ महासंघको छैटौं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Published : Monday, 2023 July 31, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया