आर्मीको जित जारी, तालिकाको शीर्ष स्थानमा

काठमाडौं । टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हात पार्दै अंक तालिकामा शीर्ष स्थानमा रहेका छन् ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको बुधबार सम्पन्न खेलमा हेल्प नेपालले नेपाल पुलिसलाई ३–२ सेटमा पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको हो ।

टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १/१ सेटको बरावरीमा ल्यायो ।

पुन: हेल्प नेपालले तेश्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८–२५ ले पराजित भए पश्चात खेल २–२ को अवस्थामा पुग्यो । संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप ३ अंक बटुल्यो ।

यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अंक भएको छ । अर्को खेलमा आर्मीले पनि अर्को विभागिय टोली एपिएफलाई ३–२ को संघर्षपूर्ण जित निकाल्यो ।

आर्मी पहिलो सेट एपिएफसंग १८–२५ ले पराजित भयो । दोश्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुन: २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो ।

चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अंक जोड्यो ।

यसका साथ आर्मीको पनि ९ अंक भएको छ । समान अंक भएता पनि टोलीले प्राप्त गरेको अंकका आधारमा हेल्प नेपाल पहिलो स्थानमा रहेको छ ।

पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अंक जोडेको छ ।

Published : Wednesday, 2023 July 12, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया