भलिबलमा पुलिसको लगातार तेश्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबको महिला टोलीले सातौं प्रधानमन्त्री कप ए.भि.ए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा लगातार तीन जित निकालेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले भलिबलमा पराजित गर्दै थप ३ अंक जोडेको छ ।

पुलिसले एकतर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको छ । जितसंगै पुलिसको ९ अंक भएको छ । पुलिसले यसअघि गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिग प्रतियोगिताको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा थप ३ अंक जोडेको छ ।

एपिएफको लिगमा यो दोश्रो जित छ । यसअघि एपिएफले आर्मीलाई पराजित गरेको थियो । एपिएफको ५ अंक भएको छ । आर्मीसंग एपिएफले अंक बाँढेको थियो ।

महिलातर्फको अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको छ । डायमन्डको ६ अंक भएको छ । यसअघि डायमन्डले गण्डकीलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अंक तालिकामा डायमन्ड दोश्रो स्थानमा रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपाल क्लबले दोश्रो जित आत्मसाथ गरेको छ ।

खेलमा हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१७ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–२१ ले जित्दै थप ३ अंक आफ्नो खातामा लेखाएको हो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । हेल्प नेपालले यस अघि सैलुङ्ग बाघढुङ्गालाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

पुरुषतर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले पराजित गरेको छ । संघर्षपूर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित टोली गण्डकीलाई २५–१९, २६–२४, ३३–३१ ले पराजित गरेको हो । यस जितका साथ आर्मीको ९ अंक भएको छ । आर्मीले दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई जितेको थियो ।

Published : Monday, 2023 July 10, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया