विश्कप छनौटमा नेपाललाई आठौँ स्थान प्राप्त

काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपालले आठौँ स्थान पाएको छ । मंगलबार भएको खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित भएसँगै नेपाल आठौँ भएको हो ।

रोमाञ्चक खेलमा अन्तिम ओभरमा पुगेर आयरल्यान्डले नेपाललाई पराजित गरेको हो । नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य ४९.२ ओभरमा पूरा गर्दै आयरल्यान्ड विजयी भएको छ ।

नेपालले ९ विकेटको क्षतिमा ५० ओभर खेल्दै २६८ रन बनाएको थियो । २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपाललाई पराजित गर्दै आयरल्यान्ड सातौँ स्थानमा रहेको छ । आयरल्यान्डको जितमा कर्टिस क्याम्फरले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रन जोडेका हुन् ।
ह्यारी टेक्टरले ६० रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रन बनाएका हुन् ।

जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए । लोर्कान टकरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर एन्डी म्याकब्रिन १७ रनमा आउट भए । कप्तान एन्डी बालबर्नी १ रनमा आउट हुदाँ पल स्टरलिङले १५ रन बनाए ।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले दुई विकेट लिए । सन्दीप लामिछानेले र गुलशन झाले समान एक/एक विकेट लिए । त्यसअघि जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन् । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

सन्दीप लामिछानले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २/२ विकेट लिए भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको थियो । समूह चरणको खेलमा नेपाल ४ खेलमा ३ मा हार र १ खेलमा विजयी भएको थियो । नेपाल समूह चरणको खेलमा चौथो स्थानमा रहेको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्टइन्डिजसँग १ सय १ को हार बेहोरेको थियो । त्यस्तै नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेको थिएन ।

Published : Tuesday, 2023 July 4, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया