कांग्रेसले एमालेलाई घाँस खान नदिने, चिन्ता नगर्न ओलीलाई आग्रह

रामहरि खतिवडा, सांसद, प्रतिनिधि सभा, नेपाली कांग्रेस

१. प्रमुख प्रतिपक्ष दलको नेता हिजो प्रस्तुत हुनुभयो । राष्ट्रपतिभन्दा अलिकति बढि समय मैले पढ्नुपर्छ, अर्कै नीति कार्यक्रम ल्याउनुपर्छ जस्तो भान गरेर अझ लामो समय लिएर अर्को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने चेष्टा गर्नुभयो ।

२. नीति तथा कार्यक्रम सरकारले एउटा ल्याउँछ । त्यसलाई समर्थन र विरोध गर्ने अर्को हुन्छ । हामीले यस्ता नीति तथा कार्यक्रमलाई धेरै समयदेखि हेरेका छौँ । हामीले धेरै कुरा पनि देखेका छौँ ।

३. मेलम्चीको उद्घाटन गर्न आफै कुदनेदेखि राष्ट्रपतिलाई लिएर जानेदेखि धरहराको उदघाटन गर्न गएकोसम्म देखियो । बोलेका कुराहरू पनि हेरें । २०७६ को नीति तथा कार्यक्रम पनि ल्याएको छु । २०७७ को पनि ल्याएको छु । २०७८ को नीति तथा कार्यक्रम पनि ल्याएको छु ।

४. मलाई असाध्यै रमाइलो लाग्यो । २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको रहेछ । बुँदा नं. ७२ मा बारीका पाटा, गरा र खेतमा सधैँ हुन्छन् हराभरा । आज चार वर्ष भयो मैले ती हराभरा कतै देख्न पाइँन ।

५. मेरो सरकार भन्ने त्यस बेला राष्ट्रपति ज्यूले झण्डै ५८ ठाउँमा प्रयोग गर्नुभएको रहेछ । अहिलेको राष्ट्रपतिले, अहिलेको सरकारले मेरो सरकार भनेन, त्यसैले यो नीति तथा कार्यक्रम अपूरो भयो होला, अधुरो भयो होला, पुनर्लेखन गर्नुपर्ने जरुरी भयो होला । पुनर्लेखन होइन लेखन नै हुन्छ । तर, अर्को वर्ष लेखन हुन्छ ।

६. चर्चा चल्यो बाघले घाँस खाँदैन भनेर । हामी घाँस खान पनि दिँदैनौँ । घाँस खाने अवस्था कसैको पनि नआओस् बाघको पनि नओस्, मान्छेको पनि नआसोस् ।

७. शरणार्थीको कुराका बारेमा चर्चा चल्यो । म्याउ…म्याउ…भन्ने शब्द सदनमा धेरै प्रचलनमा आयो । मैले प्रयोग गरेको थिएँ । मैले कुनै प्रधानमन्त्री, कुनै उप–प्रधानमन्त्री कसैलाई ईण्डिकेट गरेको होइन । तर, एउटा चलन छ । कसैलाई खुट्टाकाट भन्दा जसले बदमासी गर्‍यो त्यसले पहिला खुट्टा झिक्छ । त्यो परम्परा सदनमा विकासित नहोस् । जसले अपरोध गरेको छ त्यो परोस् । जो निर्दोष छ त्यो नपरोस् ।

८. भ्रष्टाचारको चर्चा चल्यो । कोभिडका बेला ओम्नीसहितका काण्ड, वाइडबडी भएका काण्ड, यतीका काण्ड र ती भ्रष्टाचारका कुराहरू देखेका छौँ । ५ रुपियाँको मास्कलाई ५७ रुपियाँ खर्च गरेर आर्मीलाई दिएको हामीले देखेका छौं ।

९. हामीले अहिलेको नीति तथा कार्यक्रममा गाउँगाउँमा धारा पुर्‍यौँ छौँ भनेका छौँ । रेल पुर्‍याउँछौँ भनेका छैनौँ । पानी जहाज पुर्‍याउँछौँ भनेका छैनौँ । हाम्रो लक्ष्य रेल, पानी जहाज र ग्यासको पाइप पुर्‍याउने होइन । जे गर्न सक्छौँ त्यो कुरा उल्लेख गर्ने हो । कतिपय कुरा छुटेका हुन सक्छन् । छुटेका कुरालाई बजेटमा राखेर ल्याइनेछ ।

१०. राष्ट्रपति आउँदा शिक्षक, विद्यार्थी, डाक्टरहरूले पिसाब फेर्न जान नपाउने पद्दतिको अन्त्य गरेका छौँ । डाक्टरहरूले कुटाइ खाने पद्दतिको अन्त्य गरेका छौँ । बिरामीले सहज रुपमा उपचार गर्ने वातारणको सिर्जना गरेका छौं ।

११. राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा बाटो अबरोध गर्न दिएका छैनन् । सर्वसाधारणहरू सरह गाडीबाट हिँड्ने गरेका छन् । पौडेलले विद्यादेवी भण्डारीले जस्तो राष्ट्रपतिको नाममा जनतालाई दु:ख दिएका छैनन् ।

१२. मलाई बडो रमाइलो लाग्यो । २०७८ को नीति तथा कार्यक्रममा २४९ नं. बुँदामा शुसाना, प्रबर्द्धन तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, गैरसरकारी, निजी क्षेत्रमा सदाचार प्रणाली विकास गरिनेछ । म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्छु भनेर उल्लेख गरिएको रहेछ ।

१३. ट्रान्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सबैभन्दा बढि भ्रष्टाचार त्यही वर्षमा भएको रहेछ । त्यही सरकारको पाला (केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति)मा भएको उल्लख छ ।

१४. बालुवाटार प्रकरणका कुरा आए । के जग्गा लिएर जग्गा फिर्ता गर्दा भ्रष्टाचार अन्त्य भयो ? हामीले खोजेको अन्त्य यही हो ? अनि मेरै साथीहरू, मेरै मित्रहरू उ त्यहिँ छन् भनेर देखाउँदा एउटा औँलाले त्यता देखाएर अरु चार वटा औँलाले आफैतिर फर्केको याद हुन्छ कि हुँदैन ?

१५. २०७८ को नीति तथा कार्यक्रममा आगामी वर्ष रसुवादेखि वीरगञ्जसम्म रेलमार्गको निर्माण कार्यको प्रारम्भ गरिनेछ । त्यो आगामी वर्ष भनेको २०७८ हो वा २०८१ मा हुन्छ कि ? २०८२ मा हुन्छ ? ओली सरकारले जस्तो झुठ्ठा नीति तथा कार्यक्रम अहिलेको सरकारले ल्याएको छैन ।

१६. प्रधानमन्त्री (केपी ओली) बनेका बेला प्राइभेट एयरलाईन्सको जहाज लिएर जानेले राष्ट्रियताको कुरा गरेर फेरि सदनलाई ढाँट्ने कामको अन्त्य गर्नुपर्छ । प्रधानमन्त्री (ओली) बेलायत र फ्रान्स भ्रमणमा जाँदा त्यहाँका उप–प्रधानमन्त्रीले समेत भेट नदिएर लुरुलुरु फर्केर आएको देखेका छौँ ।

१७. मुलुक बनाउने बाटोमा अहिलेको गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम हिच्किहाट नगरी, मनमा कुण्ठा नराखेर समर्थन गर्नुस् । त्यसमा सबैको भलो हुन्छ ।

१८. ओखलढुंगाको दुधकोशी हाइड्याम प्रोजेक्ट यो देशकै ठूलो प्रोजेक्ट हो । ६३५ मेगावाटको हाइड्रो पावर हो । झण्डै २० किलोमिटरको ड्याम बन्छ । ठूलो पोखरी बन्नेछ । त्यसलाई ‘पी वान’ प्रोजेक्टका रुपमा अगाडि बढाएर बजेटमा उल्लेख गर्नुपर्छ ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद रामहरि खतिवडाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जेठ ९ गतेको बैठकमा छलफलमा सहभागी हुँदै दिएको अभिव्यक्ति)

Published : Tuesday, 2023 May 23, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया