बुढानिलकण्ठबाट दशी प्रमाणसहित पवन सत्याल पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले अखाद्य बस्तु मिसावट गरी अबैध रुपमा मह उत्पादन गरेर बिक्री गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ स्थित ५७ वर्षीय पवन सत्यालले संचालन गरेको उद्योगमा छापामारेको विज्ञप्तिमा उल्लेख छ ।

सत्यालले अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेखबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी अधिकृतसहितको टोलीले छापामारेको जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

सो स्थानमा गई चेकजाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित संचालकलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका ५७ वर्षीय सत्याल बुढानिलकण्ठ नगरपालिका वडा नं. २ निवासी हुन् । उनको उद्योगबाट तयारी मह सात सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन बरामद भएको छ । सो अखाद्य महको बजार मूल्य पाँच लाख रहेको छ ।

घटनाको सम्बन्धमा पक्राउमा परेका व्यक्ति सत्याल उपर कालोबजरी तथा केही अन्य समाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको छ ।

Published : Tuesday, 2023 May 2, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया