कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, काठमाडौंले मकवानपुरबाट नेपाली कांग्रेसका वडाध्यक्ष शिवराज थिङलाई पक्राउ गरेको छ ।

व्यूरोको टोलीले लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर–७ का वडाध्यक्ष थिङलाई पक्राउ परेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वडाध्यक्ष थिङको घरबाट प्रहरीले २७ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष थिङसहित भीमलाल थिङ र ईन्द्रबहादुर थिङ रहेका छन् ।

सोमबार बिहान लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेश प्रसाद कोइरीको कमाण्डमा खटिगएको संयुक्त टोलीले तीनै जनाको घरबाट गरी जम्मा २०२ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

लागूऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरूमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्रबहादुरको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट २० किलोमिटर पश्चिम उत्तर पर्छ । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका वडाध्यक्ष शिवराज थिङ गत २०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले एमालेका विनायक गोलेलाई पराजित गर्दै निर्वाचन जितेका थिए ।

शिवराज थिङले माओवादी केन्द्रका उम्मेदवार विनायक गोलेलाई १२ मतान्तरले पराजित गरेका हुन् ।

शिवराजले थिङले ९ सय १६ र गोलेले ९ सय ४ मत पाएका थिए । एमालेका उम्मेदवार शम्भुबहादुर खत्रीले ४ सय ३, जनता समाजवादी पार्टीका ईन्द्रकुमार ठकुरीले १५, राप्रपाका विश्वनाथ गर्तौलाले ९ र मंगोल नेशनल अर्गनाइजेशनका दीपक स्याङतानले ५ मत पाएका थिए ।

मतगणनापछिको नतिजामा कांग्रेस र माओवादीबीच विवाद भएपछि ७ नम्बर वडाको अध्यक्ष पदको मतगणना दोहोर्‍याइएको थियो ।

Published : Tuesday, 2023 May 2, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया