लेखा अधिकृतको अभावमा ढोरपाटनको आर्थिक कारोबार ठप्प, सहकारी काण्डपछि नगर प्रमुख बेपत्ता

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले राम्रोसँग जिम्मेवारी बहन गर्न नसक्दा आर्थिक वर्षको अन्त्यमा ठूलो समस्या झेल्नु परेको छ ।

एमालेका नेता समेत रहेका नगरप्रमुख नेपालीले सहकारी काण्ड गरेर बेपत्ताजस्तै छन । उनले नगरपालिकाको काममा राम्रोसँग सहयोग गरिरहेका छैनन् । त्यसको परिणाम आर्थिक कारोबारमा परेको छ ।

सहकारी डुबेका कारण नगरप्रमुख नेपाली केही हप्तादेखि नगरपालिकामा नियमित नगएको आरोप छ । सहकारी काण्डपछि नेपाली पोखरातिर बस्ने गरेका छन् । नेपालीको सहकारी चुर्लुम्म डुबेको छ । बचतकर्ताले सहकारीमा गएर केही दिन अगाडि घेराउ गर्नेदेखि नागराबाजी समेत गरेका थिए । सहकारीको रकम दिन नेपालीमाथि बचतकर्ताको ठूलो दवाव छ ।

ढोरपाटन नगरपालिकामा शिव शर्मा लेखा अधिकृत थिए । उनले ३ वर्षसम्म काम गरेका थिए । शर्माको तारकेश्वर नगरपालिकामा सरुवा भएको छ ।

नगर प्रमुख नेपालीले लेखा अधिकृत शर्मालाई आर्थिक वर्षको अन्त्यतिर तामझामका साथ विदाइ गरेपछि साढे १ महिनादेखि नगरपालिकाले आर्थिक कारोबार गर्न सकिरहेको छैन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले करीव साढे १ महिनादेखि नगरपालिकामा आर्थिक कारोबार ठप्प जस्तै रहेको बताएका छन् । उनले भने, ‘हामीले अब दिनपर्ने भुक्तानी गर्न सकेनौँ भने नगरपालिकामा तालाबन्दीको अवस्थासम्म सिर्जना हुन सक्छ ।’

‘विद्यालयका शिक्षकको तबल, पाठ्यपुस्तकको भुक्तानी, राष्ट्रपति शैक्षिक सुधारको रकम, करीव तीन सय आयोजनाको भुक्तानी दिन बाँकी छ, सामाजिक सुरक्षा भत्ता पनि दिन सकिएको छैन’, ज्ञवालीले भनेका छन्, ‘लेखा अधिकृतका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई चौथो पटक पत्र लेखिसकेको छु । अन्य निकायलाई पनि पत्र पठाएको छु । लेखा अधिकृत पाउन सकिएको छैन ।’

संघीय मामिला मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको क्षेत्राधिकारका कारण पनि लेखा अधिकृत लैजान समस्या भएको छ । महालेखाले लेखा अधिकृत संघीय मामिला मन्त्रालयले नै कर्मचारी व्यवस्था गरोस् भनेको छ ।

नगरप्रमुख नेपाली अर्को व्यवस्था नहुँदासम्म लेखा अधिकृतलाई रमानासहित विदाइ गर्नु हुँदैन थियो । आर्थिक वर्षको अन्त्यमा नगरपालिकामा लेखा अधिकृत नै नभएपछि नगरपालिकाका नगर उप–प्रमुखसहितका जनप्रतिनिधिहरू तनाबमा परेका छन् ।

लेखा अधिकृतको माग गर्न भनेर ढोपाटन नगरपालिकाका नगर उप–प्रमुख कल्यानबहादुर कायत काठमाडौं आएका छन् । कायतसँग वडा नं. २ का वडाध्यक्ष भेकबहादुर खत्री र वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र पुन पनि नगर उप–प्रमुख कायतसँग आएका छन् । प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली पनि काठमाडौंमै छन् ।

नगर उप–प्रमुख कायतले लेखा अधिकृत लैजान ठूलो प्रयास गर्दा पनि नसकिएको बताए । उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा नगरपालिकाले कुनै पनि आर्थिक कारोबार गर्न सकेको छैन । हामी तनाबमा छौँ । सबै प्रयासहरू गरिरहेका छौँ ।’

नगर उप–प्रमुख कायतको टोलीले ढोरपाटन नगरपालिकामा लेखा अधिकृत लैजानका लागि प्रतिनिधि सभाका सांसद देवी भट्टचनसँग पनि आग्रह गरिसकेका छन् ।

उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसहितका उच्च अधिकारीलाई भेट गरेका छन् । लेखा अधिकृत पठाइदिन पनि अनुरोध गरेका छन् । तर, कार्यविधिका कारण पठाउन नसकिने जवाफ मन्त्री र मन्त्रालयबाट पाएपछि नगर उप–प्रमुख कायत निरास बनेका छन् ।

मन्त्री मोदीले छिमेकी पालिकाबाट लेखा अधिकृत लगेर असारसम्म काम गराउन काइते सुझाव दिएका छन् । नगर उप–प्रमुख कायतले सो प्रयास पनि गरिरहेका छन् । तर, छिमेकी पालिकाको लेखा अधिकृत ढोरपाटन नगरपालिकामा गएर काम गर्न मानिरहेका छैनन् ।

ढोरपाटन नगरपालिकालाई लेखा अधिकृतको समस्या भएपछि मन्त्री मोदीले छिमेकी पालिकाबाट लेगेर चलाउन भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि झन् तनाब भएको छ । मोदीले पालिकालाई समस्या पर्दा सहयोग गर्ने हो गैरजिम्मेवार जवाफ दिने होइन । कर्मचारी व्यवस्थापन गर्न सक्दैनन् भने मोदीलाई मन्त्री पदमा बस्ने अधिकार छैन । राजीनामा दिएर हिँडे हुन्छ ।

Published : Tuesday, 2023 May 2, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया