काठमाडौंबाट गएको प्रहरीद्वारा मकवानपुरबाट ईन्द्रबहादुर पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुरबाट ६७ वर्षीय ईन्द्रबहादुर थिङलाई पक्राउ गरेको छ ।

थाहा नगरपालिका–७ आग्रा बस्ने थिङलाई अवैध लागूऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको छ ।

व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–१ दमक फन पार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित कमल गाउँपालिका–६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

दमक नगरपालिका–९ प्रणामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम, मोवाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपियाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रकाश रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनगढी उप–महानगरपालिका–१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही उप–महानगरपालिका–१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Monday, 2023 May 1, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया