पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ले १ करोड ३० लाख पायो

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपियाँको सहयोग प्राप्त गर्न सफल भएको छ ।

‘सहायक श्रीमान’ले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको छ ।

गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलरको फिल्म फण्डिङ जितेको हो ।

‘सहायक श्रीमान’ले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरू प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो ।

‘सहायक श्रीमान’ले सोमबार नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘सहायक श्रीमान’ले उत्कृष्ट पुरस्कार पाएको छ ।

‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो ।

यसअघि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको थियो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।

निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट ‘सहायक श्रीमान’ निर्माण गरेका हुन् ।

‘सहायक श्रीमान’को निर्मात्री शारदा गैरे हुन् । प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् ।

ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई छायाँकन गरेका छन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

Published : Monday, 2023 May 1, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया