पूर्वराजा शाहद्वारा जुम्लाका जनताप्रति कृतज्ञता प्रकट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्लाका जनसमुदायप्रति कृतज्ञता प्रकट गरेका छन् ।

पूर्वराजा शाहका सम्वाद सचिव डा.फणीराज पाठकले आइतबार सूचना जारी गरेर मौसमका कारण शाह जुम्लाको खलंगामा उपस्थित हुन नसकेको जनाएका छन् ।

‘मौसूफको स्वागत दर्शनका लागि बिहानैदेखि उत्साहपूर्ण जुम्ला खलंगामा उपस्थित त्यस भेगका जनसमुदाय तथा आयोजकहरूप्रति मौसूफबाट आत्मीयतापूर्ण कृतज्ञता प्रकट गरिबक्सेको छ’, सूचनामा भनिएको छ ।

पूर्वराजा शाहलाई आइतबार जुम्लाको खलंगामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा सरिक हुन पूर्वराजा शाह खलंगा जान नेपालगञ्जमा रहेका थिए ।

नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण जहाज उड्न नसकेकोले बाध्यताबस भ्रमण स्थगित भएको थियो ।

Published : Sunday, 2023 April 30, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया