कांग्रेस नेता लेखकद्वारा महाकाली करिडोरको शून्य विन्दुको अनुगमन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले गति पाउने बताएका छन् ।

आइतबार कञ्चनपुरमा कांग्रेस नेता लेखकले विगतमा सरकारको उदाशीनताका कारण निर्माणमा ढिलाई भएको बताए । उनले अब डेढ वर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने बताएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद लेखकले करिडोरको शून्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन पनि गरेका छन् ।

उनले रुख कटान अनुमति कै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताएका छन् ।

नेता लेखकले भने, ‘अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमति दिइसकेको छ ।’

‘कञ्चनपुरबाट आउँदो दशैँमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्नेछौं’, उनले भनेका छन् ।

करिडोरको शून्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्षबितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो ।

नेता लेखककै पहलमा रुख कटान अनुमति लगायत कञ्चनपुरका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’सँग आग्रह पनि गरिएको छ ।

करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने नेता लेखकले बताएका छन् ।

उनले बैतडी–दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुँने उल्लेख गरेका छन् ।

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ ।

करिडोरअन्र्तगत ४२५ किलोमिटर ट्रयाकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ ।

करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थिए ।

Published : Sunday, 2023 April 30, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया