निरा हत्या प्रकरणमा बाउन्सर पक्राउ

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद बिकलाई काठमाडौं ल्याउन लागिएको छ ।

झापाको धुलाबारीका बिकलाई प्रहरीले आज आइतबार काठमाडौं ल्याउन लागेको हो । बिक काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका व्यक्ति हुन् ।

बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डीएसपीसहितको टोली झापा पुगेको छ ।

हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।

सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको वैशाख ७ गते पसलमा हत्या भएको थियो । उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

हत्यामा बिक संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरेर सुक्ष्म रुपबाट अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 April 30, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया