बर्दिबासका मेयर कांग्रेसमा फर्किए, सभापति देउवाद्वारा स्वागत

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेसमा फर्किएका छन् ।

शनिबार काठमाडौंको धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा आयोजित विशेष कार्यक्रममा मेयर क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई सभापति देउवाले कांग्रेसमा स्वागत गरेका छन् ।

मेयर क्षेत्रीलाई उद्योगमन्त्री समेत रहेका केन्द्रीय सदस्य रमेश रिजालको विशेष पहलमा कांग्रेसमा फर्काइएको हो ।

क्षेत्रीले एक वर्षअघि स्वतन्त्र प्यानल खडा गरेर मेयर पदमा उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराइदिएका थिए ।

उनले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरेर मेयर, उप–मेयरसहित बहुमत वडाध्यक्ष आफ्नो प्यानलबाट जिताएका थिए ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि कांग्रेसले क्षेत्रीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्रीको समूह मेयर, उपमेयरसँगै बर्दिबास नगरपालिकाको चारवटा वडामा विजयी भएको थियो ।

मेयर क्षेत्रीलाई पार्टीमा फर्काउने कार्यक्रममा केन्द्रीय सदस्य तथा उद्योगमन्त्री रमेश रिजाल, मधेश प्रदेशका सभापति कृष्ण यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 April 29, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया