जनकपुरमा कोदोसहित ८४ प्रकारका परिकार, लोक साँस्कृति प्रदर्शन

काठमाडौं । जनकपुरस्थित मिथिला यात्री निवासमा जनकपुरधाम साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक साँस्कृतिक कार्यक्रम रहेको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यकमको विशेष आकर्षणको रूपमा रहेको थियो ।

सोही दिन साँझ लोक साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरूले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरत नाट्यम नृत्य प्रस्तुत गरेका थिए ।

मिथिला नाट्य कला परिषद् (मिनाप)का कलाकारहरूले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरेका छन् । दुवै कार्यक्रमको उद्घाटन मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले गरेका थिए ।

‘आजादीका अमृत महोत्सव’अन्तर्गतको एक कार्यक्रमको रूपमा र सीता नवमीको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।

मधेश प्रदेशका सदस्य, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी, विशिष्ट व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

दुई देशका समान कला, संस्कृति, चाडपर्व र परम्परालाई झल्काउने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम साँस्कृतिक महोत्सवले कार्यक्रममा प्रस्तुत गरी धुमधामका साथ मनाइएको छ ।

महोत्सव नेपालका लागि भारतीय राजदूतावास काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगञ्जसँगको सहकार्यमा आयोजना गरेको थियो ।

Published : Saturday, 2023 April 29, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया