प्रचण्ड-देउवालाई ‘रिप’ लेख्ने एसपीपनि एसएसपी बढुवामा सिफारिस, बढुवामा २१ जना परे

काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

समितिले शुक्रबार सूचना प्रकाशित गरेर १८ जना प्रहरी उपरीक्षक (एसपी)लाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपी बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी परेका छन् । दोस्रो नम्बरमा भुपेन्द्रबहादुर खत्री र तेस्रो स्थानमा सानुराम भट्टराई बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिसमा परेका एसएसपीहरूमा ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा रहेका छन् ।

त्यसैगरी एसएसपीमा बढुवा सिफारिस हुनेमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।

एसएसपी बढुवा सिफारिसमा परेकी गंगा पन्त विवादित व्यक्ति हुन् । पन्तले तत्कालीन समयमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सामाजिक सञ्जालमा लेखेर गालीगलौज गरेकी थिइन् ।

०७३ सालमा प्रचण्ड प्रधानमन्त्री थिए । त्यतिबेला डीएसपी रहेकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘रिप’ लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन् ।

सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै पन्तले पदीय मर्यादाविपरीतको कमेन्ट गरेकी थिइन् ।

पन्तको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो । महानिरीक्षकका लागि तात्कालीन डीआइजी नवराज सिलवालले लविङ गरेपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

तात्कालीन माओवादी–कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले सुझबुझपूर्ण निर्णय लिएको भन्दै कार्कीले फेसबुकमा प्रचण्डको प्रशंसा गरेका थिए ।

कार्कीले फेसबुकमा लेखेका थिए, ‘साहस त देउवाको जस्तो हुनुपर्छ । तिमी पानी मरुवाहरूको के काम ? आफ्नो सभापतिको विरोध गरेर गुट, उपगुटको राजनीतिलाई प्रश्रय दिन खोज्दा ठूलो दुर्घटनामा परिएला । आइजीपीको कारणले होइन, सबैले बुझ्न जरुरी छ । लोकतन्त्र मास्ने ठूलो षड्यन्त्र थियो, जो देउवा अनि प्रचण्डले कूशलतापूर्वक समाधान गरे ।’

कार्कीले तात्कालीन डीआइजी नवराज सिलवालको प्रयासको विरोध गर्दै ओली–प्रचण्ड निर्णयको समर्थन गरेका थिए । कार्कीको स्टाटसमा तत्कालीन डीएसपी रहेकी पन्तले ‘रिप’ भन्दै कमेन्ट गरेकी थिइन् ।

यसैबीच, बढुवा समितिले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह चिकित्सकको प्रहरी वरिष्ठ उपरीक्षक पदमा ३ जनाको बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेमा डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । उनीहरू नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन् ।

Published : Saturday, 2023 April 29, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया