मोहन बस्नेतद्वारा दुई मन्त्रीलाई मेलम्चीमै ल्याए विकास र बजेट दिन आग्रह, मन्त्रीहरूद्वारा प्रतिवद्धता व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशका दुई जना मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा लगेर बाढीपहिरोबाट क्षति भएको संरचना निर्माणमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार पूर्वमन्त्री समेत रहेका बस्नेतले आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र खानीपानी, सिचाइँ तथा उर्जामन्त्री तीर्थ लामालाई मेलम्चीको बाढीपहिरो प्रभावित स्थानमा लगेर बजेटसहितको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा बजेट अभाव हुन नदिने प्रतिवद्धता मन्त्रीद्वयले गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रहरू र मेलम्ची खानेपानी परियोजनाको स्थलगत अबलोकन पनि गरिएको छ ।

नेता बस्नेतका साथै दुबै जना मन्त्रीहरूले जनताको जनगुनासो र समस्या सुनेका छन् । आर्थिक मामिलामन्त्री लामाले जनताको मागलाई कार्यान्वयन गर्न आफूले कुनै ढिलाइ नगर्ने बताएका छन् ।

आर्थिक मामिलामन्त्री लामाले भने, ‘बाग्मती प्रदेश सरकारले जनताका प्राथमिक समस्यालाई ध्यानमा राख्दै आगामी वर्षको नीति तथा योजनासँगै बजेट निर्माण गर्नेछ ।’

‘सिन्धुपाल्चोकका जनताको आम माग र समस्यालाई सम्बोधन गर्न बाग्मती प्रदेश सरकार प्रतिबद्ध छ’, उनले भनेका छन् ।

करीव ३ वर्ष अगाडि असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट १५ जनाले ज्यान गुमाएका थिए । करोडौंको धनमाल क्षति भएको थियो ।

मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि कांग्रेसका नेता बस्नेतले पहल गर्दै आएका छन् ।

बस्नेतले पाँचपोखरी, हेलम्बुबाट ढाँडखोला लगायतमा पनि बाढीपहिरो नियन्त्रणका लागि पहल गर्दै आएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ बाट उम्मेदवार बन्दै आएका कांग्रेसका नेता बस्नेत यस पटक सिन्धुपाल्चोकको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए ।

क्षेत्र नं. २ का जनताले पनि बस्नेतलाई दिल खोलेर मतदान गरेर अत्याधिक मतसहित जिताइदिएका थिए । बस्नेतले पनि क्षेत्र नं. २ मा दिल खोलेर विकास गर्न हात हालेका छन् ।

Published : Saturday, 2023 April 29, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया