कांग्रेस नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशमा बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुन लागेका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज बिहीबार अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको सरकार बन्न लागेको हो ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेका खगराज अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

कानूनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ ।

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ ।

मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।

मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको छ ।

Published : Thursday, 2023 April 27, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया