दिनमा कांग्रेस, रातमा…? हुनेहरूबाट बचौँ : पूर्वमन्त्री थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले पार्टीको महत्वपूर्ण पदीय जिम्मेवारीमा बसेका नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता थकालीले गोविन्द भट्टराई जस्ता नेता पराजित भएकोमा चिन्ता जनाएका हुन् । उनले पार्टीको महत्वपूर्ण पदमा बसेका केही नेताहरूका गतिविधिप्रति पनि आक्रोश पोखेका छन् ।

नेता थकालीले कसैको पनि नाम नलिएर आलोचना गरेका छन् । उनले कांग्रेसभित्र बसेर कांग्रेसलाई हराउने समूहप्रति आफ्नो अभिव्यक्ति लक्षित गरेका छन् । उनले दिनभरि कांग्रेस हुने र राति परेपछि अरु थोकका कांग्रेस हुनेहरूसँग बच्नुपर्ने पनि बताएका छन् ।

नेता थकालीले भनेका छन्, ‘गाउँ–गाउँवसी जनता, प्रजातन्त्र र पार्टीको लागि भोको पेट, नाङ्गो खुट्टा हिँडी संगठन गर्ने, प्रतिभा र संघर्षको अथाह ईतिहाँस बोकेका कार्यकर्तालाई बिर्सेर केवल भागवण्डाको धन्धा गर्ने, आफू केन्द्रित भाषण र प्रचारमा रमाउने र मेडिया ट्रोलमा माहिरहरूको हातमा पार्टीको महत्वपूर्ण पदीय जिम्मेवारीमा रहनु र उनीहरूकै भूमिकामा कांग्रेस कार्यकर्ता आश्वस्त हुन नसक्नु साथमा दिनमा कांग्रेस रातमा…?हरूको जमातले युवा अवस्था देखिनै लोकतान्त्रिक आन्दोलनमा होमिएका गोविन्द भट्टराई जस्ता युवा नेतालाई यो हालतमा पुर्‍याए ।’

‘मेरो व्यक्तिगत अनुभवमा ठूलो षडयन्त्रको शिकार हुन पुगे हाम्रा युवा उम्मेदवारहरू’, उनले भने, ‘पार्टीहरूले आत्म समीक्षा नगरे गतिशील समाज र आत्मसम्मानमा बाँच्न चाहने आम नेपालीले झनझन कठोर सजाय दिँदै जानेछन् ।’

कांग्रेसले चितवन २ र तनहुँ १ को उप–निर्वाचनका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसारका लागि कमाण्डर तोकेर पठाएको थियो । कांग्रेसले जसलाई ती क्षेत्रमा पठायो उनीहरू कै भूमिका गतिलो नभएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

कतिपयले कांग्रेसभित्र रहेका ‘घण्टी कांग्रेस’ले नै तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई हराउन भूमिका खेलेको आरोप पनि लगाएका छन् ।

Published : Wednesday, 2023 April 26, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया