राष्ट्रपति पौडेलबारे भ्रामक समाचार प्रकाशित नगर्न अनुरोध

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित् अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी छ ।

चिकित्सकहरूका अनुसार पौडेलको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख छ । उनको स्वास्थ्यसम्बन्धी केहि परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन् ।

छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार पौडेलको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली तथा प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा पौडेल भारतमा उपचारका लागि जान तयार भएका हुन् । यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा नै बताइसकेका छन् ।

‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केहि संचार माध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उप–राष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ ।

‘ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति हामी दुःख व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘यसप्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि आम नेपाली दिदिबहिनी तथा दाजुभाइहरू लाग्नुहुने छैन् भन्नेमा हामी विश्वस्त छौं’, निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2023 April 26, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया