कांग्रेसका तीन मन्त्री र एक राज्य मन्त्रीले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका तीन जना नवनियुक्त मन्त्रीहरूले कर्णाली प्रदेश सरकारमा शपथ लिएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा मन्त्रीहरूले शपथ लिएका हुन् । वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले पद तथा गोपनीयताको शपथ लिएकाहुन् ।

कांग्रेसका सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले बिहीबार ऊर्जामन्त्रीको रूपमा शपथ लिएकी छिन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।

Published : Thursday, 2023 April 20, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया