सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कियो : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणो नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राणाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कम हुनुको कारण खोजी गर्नुपर्ने बताएकी हुन् । उनले स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राणाले नेपाल सरकारको तथ्यांकअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरू तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको बताएकी छिन् । उनले सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताएकी छिन् ।

राणाले भनिन्, ‘धनगढी उप–महानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो ।’

‘हाम्रो देशका विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना संख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ’, उनले भनेकी छिन् ।

उनले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिएकी छिन् ।

विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको राणाले बताएकी छिन् । उनले समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने बताएकी छिन् ।

राणाले देशभरका सरकारी विद्यालयहरूका आधारभूत तहमा अंग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्ने बताएकी छिन् ।

नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरूको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उनले बताएकी छिन् । उनले शिक्षा अधिकारको सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छिन् ।

Published : Wednesday, 2023 April 19, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया