प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढ्यो, के भयो कुराकानी ?

काठमाडौं । सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष पहलमा सिंहदरबारमा बुधबार संवैधानिक परिषदको बैठक बसेको छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा छलफल भएको छ । ठोस निर्णय भने भएको छैन ।

कानूनमन्त्रीको समेत जिम्मेवारी पाएका उप–प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बैठकमा कुनै निर्णय नभएको जानकारी दिएका छन् । खड्काले भने, ‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो ।’

बैठकको अर्को मिति पनि तोकिएको छैन । बैठक कहिले बस्छ भन्नेबारे केही भनिएको छैन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हरिकृष्ण कार्कीले हाल कायममुकायम प्रधानन्यायाधीशको काम गरिरहेका छन् ।

बैठकमा दाहाल, विपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता खड्गप्रसाद ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप–सभामुख इन्दिरा राना र कानूनमन्त्रीको समेत जिम्मेवारी पाएका उप–प्रधान तथा रक्षामन्त्री खड्का सहभागी थिए ।

Published : Wednesday, 2023 April 19, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया