पर्यटन बोर्डको पहलमा म्यानमार–भैरहवा सिधा उडान गर्ने सहमति, उचस्तरीय वार्ता

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ ।

बौद्ध धर्मालम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले पहल गरेको विज्ञप्तिमा उल्लेख ।

यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल सम्पन्न गरेको छ ।

छलफलका क्रममा नेपालीपक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्य पुत्ताले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरू बढने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतम बुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरू तयार रहको बताए । उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिन सक्ने बताए ।

यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग सम्बाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययनपछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

म्यामारको नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुपखान्मुङले आफूले गौतम बुद्ध विमानस्थल निरीक्षण गरेर फर्किएको र सिधा उडानबारे आफूहरू सकारात्माक रहेको बताए । उनले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाका साथ छलफल अगाडि बढाइने समेत बताएका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउपुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताएका छन् ।

उनले यो छलफलपछि सिधा उडानका नयाँ सम्भावना, व्यापार व्यवसाय तथा अन्य पक्षबारे थप छलफल गर्ने बाटो खुलेको समेत बताएका छन् ।

‘लुम्बिनीलाई केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ । बुद्धिस्टकन्ट्रीबाट नै उडान छैनन् । यो अवस्थामा विमानस्थल संचालन तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि हामीले यो पहल गरेका हौं । छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोलनेमा हामी आशावादी छौं’, उनले भने ।

छलफल कार्यक्रममा नेपाल म्यामार उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार अग्रवाल, प्रथम उपाध्यक्ष रतनलाल अग्रवाल, पर्यटन व्यवसायी तुलसी ज्ञवाली, मोहनबीर थापा लगायतले नेपाल म्यानमार सम्बन्धको चर्चा गर्दै म्यानमारबाट सिधा उडान हुन पर्यटनका साथै अन्य आर्थिक गतिविध समेत बढने बताए ।

नेपालका लागि म्यानमारका राजदूत सेन ओलीसहित म्यानमारबाट आएको टोलीले आजै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसँग भेटघाट गर्ने कार्यक्रम रहेको र यस विषयमा मन्त्रीसंग पनि थप छलफल हुने नेपाल पर्यटनबोर्डका निर्देशक लक्ष्मण गौतमले जानकारी दिएका छन् ।

Published : Wednesday, 2023 April 19, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया