लाजिम्पाट र कपनबाट दुई जना मानिसहरू पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले ४२ वर्षीय पवन राणालाई पक्राउ गरेको छ ।

राणाले अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ घर भई राणा हाल बुढानिलकण्ठ नगरपालिकाको कपनमा बस्दै आएका थिए । प्रहरीले राणालाई मंगलबार पक्राउ गरेको जनाएको छ ।

उनले सयौं जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भएका थिए ।

राणाले ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिकाको कपनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि श्रम विभागमा पठाइएको छ ।

उता, प्रहरीले ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउलाई पनि पक्राउ गरेको छ ।

जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बर्दियाको गुलरिया नगरपालिका–३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिलकुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषिकम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरूबाट पटक पटक गरी ३१ लाख रुपियाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि विभागमा पठाइएको छ ।

Published : Wednesday, 2023 April 12, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया