५० वर्षभन्दा धेरै समयदेखि कान्ति लोकपथ अलपत्र, कांग्रेस सांसद राणाद्वारा बजेट र मुआब्जा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य उदयशम्शेर राणाले ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडासम्मको कान्ति लोकपथको अधुरो काम छिटो सम्पन्न गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद राणाले ५० वर्षभन्दा पनि धेरै समय भइसक्दा समेत कान्ति लोकपथको काम पूरा हुन नसकेकोमा चिन्ता जनाएका हुन् । उनले सडक निर्माणमा केही स्थानमा मुआब्जाको लागि अर्थ मन्त्रालयसँग रकम माग गरेका छन् ।

उनले भने, ‘सातदोबाटोदेखि हेटौँडा जोडिने ९१ किलो मिटर कान्ति लोकपथ बिक्रम संवत २०१३ मा शुरु गरेको आजको दिनसम्म अधुरो छ ।’

‘योजना आयोगमार्फत सबै प्रक्रिया पूरा गरेर स्रोत सुनिश्चितताको निम्त अर्थ मन्त्रालयमा एक सेक्सन पिच गर्नको निम्ति फाइल तीन महिनादेखि घुमीरहेको छ’, कांग्रेसका सांसद राणाले भने, ‘साथसाथै त्यही सडकको निम्ति सडक फराकिलो पार्न जरुरी छ ।’

उनले भने, ‘सातदोबाटो, सुनाकोटी, ठेँचो, चापागाउँ सडकको निम्ति मुआब्जाका लागि माग गरेको लगभग तीन वर्ष भइसक्यो । यसमा अझै कुरा अगाडि बढेको छैन । अर्थ मन्त्रालयलाई छिटोभन्दा छिटो स्रोतहरू जुटाइदिन माग गर्दछु ।’

राणाले भने, ‘सातदोबाटो, हरिसिद्धि, ठैँब सडकमा पनि केही सेक्सनसहित ठूलो बनाइसकेको छ । अरु सेक्सन पनि ठूलो र फराकिलो बनाउनको निम्ति मुआब्जाको माग गरेको ३ वर्ष भइसक्यो । मुआब्जा दिन पनि अर्थ मन्त्रालयलाई आग्रह गर्दछु ।’

Published : Monday, 2023 April 10, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया