खतिवडाले ओखलढुंगाको सबैभन्दा ठूलो दु:ख समाधान गरिदिने, कोशी सरकारले दियो सहमति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाको पहलमा वर्षौदेखि ओखलढुंगाबासीले वर्षातको समयमा भोग्दै आएको पहिरे खोलाको समस्याबाट छुटकारा पाउने भएका छन् ।

बिराटनगरमा आइतबार खतिवडाले पहिरे खोलामा पुल निर्माण गर्नका लागि कोशी प्रदेशका प्रमुख सचिव डा.दीपक काफ्लेसँग भेट गरेर बजेट र कार्यक्रमका लागि आग्रह गरेका हुन् । खतिवडाको आग्रहपछि सचिव डा.काफ्लेले पहिरे खोलाको पुलमा बजेट राखेर समयमा काम पूरा गर्ने आश्वासन दिएको कांग्रेसका नेता रुद्र अधिकारीले बताएका छन् ।

खतिवडाले अर्थसचिव श्यामप्रसाद भण्डारी, भौतिक मन्त्रालयका विभागीय प्रमुखलाई पनि सचिव डा.काफ्लेसँग सँगै राखेर पहिरे खोलाको समस्याका बारेमा जानकारी गराएका थिए ।

वर्षातको समयमा जनताले ठूलो पीडा भोगेको भन्दै खतिवडाले समस्या समाधानको लागि पहल गरेपछि त्यसलाई प्रदेश सरकारलेले तत्काल सम्बोधन गर्ने आश्वासन दिएको हो ।

सांसद खतिवडाले ओखलढुंगाबासी पहिरे खोलाबाट हैरानीमा परेको, वर्षातको समयमा समदमुकाममा रहेको सामुदायिक मिसन अस्पतालसंगको सम्बन्ध बिच्छेद हुने गरेको जानकारी समेत प्रदेश सरकारलाई गराएका छन् ।

पहिरे खोलाका कारण सदरमुकामसँग पाँच वटा पालिका मोलुंग खिजीदेम्बा, सुनकोशी लिखु र चम्पादेवी अर्थात् आधा ओखलढुंगासँगको सम्बन्ध बिच्छेद गर्ने गरेको भन्दै पहिरे खोलाको पुलको समस्या तत्काल समाधान नगर्ने होभने बजेट जति राखे पनि केही नहुने खतिवडाले बताएका छन् ।

सांसद खतिवडाले प्रदेशका प्रमुख सचिव र अर्थ सचिवसंगको छलफलमा लिखु एकवारलाई पनि ८ देखि १० करोडको बजेट छुट्टाउन आग्रह गरेका छन् ।

नवलपुरमा भर्खरै पुल समेत बनेको छ । नवलपुरबाट साँघुटार भर्‍याङ्गबेसीसम्म सडक जोड्न आवश्यक रहेको खतिवडाले बताएका छन् ।

उनले नवलपुरदेखि साँघुटार भर्‍याङ्गबेसी सडक जोड्न सके सोलुसम्म जाने राजमार्ग सहज हुने बताएका छन् । सो सडकले पश्चिम ओखलढुंगादेखि रामेछापसँग पुग्ने बाटो सहज हुने उनले बताएका छन् ।

लिखु एकवार, दुधकोशी एकवारको सडक निर्माण छिटो सम्पन्न गर्नसके सोलु, रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीसम्म पाँच वटा जिल्लामा ठूलो प्रभाव पर्ने खतिवडाले बताएका छन् ।

आफू केहि दिनमा जिल्ला जान लागेको भन्दै ओखलढुंगा जाँदा सडक र पुलको योजनाको संदेश जनतालाई सुनाउन चाहेको बताएका छन् ।

पहिरे खोलाको समस्या र सडक निर्माणको योजना माग गर्न केन्द्रीय सदस्य तथा सांसद खतिवडासंगै ओखलढुंगा कांग्रेसका नेता रुद्र अधिकारी पनि विराटनगर पुगेका थिए ।

Published : Monday, 2023 April 10, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया