कोइलाबास नाका खोल्न भारतसँग कुटनैतिक पहल गर्न कांग्रेस सांसद दीपक गिरीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले मुलुकमा विकास निर्माणका कामहरू समयमा पूरा हुन नसकेर अस्तव्यस्त रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै गिरीले जताततै बाटोहरू, पुलपेलासहरू, सिचाइँको तटबन्दका कामहरू अपुरो रहेको बताए । उनले काम नगर्ने प्रवृत्तिलाई सरकारले उचित कारबाही गर्नुपर्ने बताएका छन् ।
गिरीले देशमा सरकार नभएको अवस्था देखा परिरहेको बताएका छन् ।

उनले चुरेको जंगलमा आगलागी भएर नोक्सानी भएको बताएका छन् । सांसद गिरीले चुरेको जंगल बचाउन विशेष पहल गर्न पनि अपील गरेका छन् । जंगल विनास भयो भने झन् वातावरणीय समस्या हुने उनले चेतावनी दिएका छन् ।

सरकारले बजेट बनाउन लागेको अवस्थामा अपुरा कार्यक्रमलाई पूरा गर्ने गरेर बजेट बनाउन गिरीले आग्रह गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गिरीले दाङको तुलसीपुरमा रहेको टरीगाउँको विमानस्थलका विषयमा गम्भीर रुपमा कुरा उठाएका छन् ।

उनले बिक्रम संवत २०११ सालमा स्थापना भएको टरीगाउँको विमानस्थल स्तरोन्नतिको लागि माग गरेका छन् ।

उनले टरीगाउँ विमानस्थलको रनवे ७ सय मिटर कालोपत्रे रहेको भन्दै त्यो रनवेलाई १७ समय मिटरको बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तुलसीपुरको टरीगाउँ विमानस्थलका लागि चार वटा बिकल्प दिएको भन्दै त्यसमध्ये उपयुक्त विकल्पलाई बजेटमा राख्न माग गरेका छन् ।

बिक्रम संवत २०२० सालमा स्थापना भएको दाङको कोइलाबास नाका बन्द जस्तै रहेको भन्दै चिन्ता जनाएका छन् ।

उनले बिगतमा २४सैं घण्टा खुला रहेको कोइलाबास नाका बन्द रहनु चिन्ताको विषय भएको बताए । उनले बिगतमा कोइलाबास नाका वीरगञ्ज जस्तै चहल पहल हुने गरेको बताए ।

उनले कोइलाबास नाका खोल्न भारत सरकारसँग कुटनैतिक पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । कोइलाबास नाका सञ्चालन गर्न गढवामा ठूला सडकहरू बनेको गिरीले बताएका छन् ।

इतिहाँस बोकेको कोइलाबास नाका खोल्नुपर्ने गिरीले जबरजस्त रुपमा माग अगाडि सारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भविष्यमा भारत भ्रमणमा जान लागेको भन्दै उनले कोइलाबास नाका खोल्न भारतसँग आग्रह गर्नुपर्ने बताएका छन् ।

सांसद गिरीले संसदको शून्य समय र विशेष समयमा राखिएका कुराहरूलाई सरकार र सम्बन्धित निकायले जिम्मेवारीबोध गरेर उचित जवाफ दिनुपर्ने माग गरेका छन् ।

Published : Monday, 2023 April 10, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया