जमीन भासिएको बारे स्थानीयबासी, जनप्रतिनिधि र समिट होटलबीच यसरी भयो समस्या समाधान

काठमाडौं । समिट होटल प्रा.लि.ले ललितपुरको कुपण्डोल हाईटमा समिट रेसिडेन्सी निर्माणमा देखिएको समस्या समाधान भएको जनाएको छ ।

प्रोजेक्सन सञ्चालक संचित श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गरेर समिट रेसिडेन्सी निर्माणस्थलको जग्गाको पाईल प्रोजेक्सनको काम चलिरहँदा चैत २५ गते देखिएको समस्या निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहबरमा समस्या समाधान भइसकेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल हाईटमा साविक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको पाईल प्रोजक्सनको काम चलिरहँदा चैत २५ गते साईटको पूर्वदक्षिणतर्फको केही जमीन भासिन गई स्थानीयवासीको आवासमा समेत असर परेकाले उक्त समस्या देखिए लगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरि समस्या समाधानका लागि सहमति भइसकेको र सोही सहमतिअनुसार आगामी काम अगाडि बढाइने भएकाले सम्बन्धित सबैको जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

समिट होटल प्रा.लि.ले परियोजनाको नक्सा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट पहिला नै पास भइसकेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नक्सापासको सन्दर्भमा यस परियोजनाको नक्सा सम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको जानकारी गराइन्छ ।’

‘नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेश गरिनेबारे नगरप्रमुखज्यूलाई जानकारी गराइसकिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

केही सञ्चारमाध्यमले पाईल प्रोजेक्सनको काम चलिरहेका बेला जमीन भासिएको विषयलाई पहाडै भत्किए जसरी प्रचार गरेका थिए ।

कुनै पनि ठूला योजना र काम गर्दा सबै प्रक्रिया पूरा गरेर गरिन्छ । होइन भने अर्बौंको लगानी डुब्छ । त्यो कुरालाई बुझेर पनि केही सानो स्वार्थी समूहले बुझ पचाएको चर्चा छ ।

Published : Monday, 2023 April 10, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया