हतियारहरूसहित थुप्रै मानिसहरू पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुरबाट हतियारसहित मानिस पक्राउ गरेको छ ।

हेटौंडा उप–महानगरपालिका–३ बसामाडी सरस्वरी पेट्रोल पम्प नजिकबाट म्याग्जिन सहितको अटोमेटिक पेस्तोल १ थानसहित सोही उप–महानगरपालिका–१२ पदमपोखरी भोर्ले बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पैदल हिँडिरहेको अवस्थामा उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।

उता, सुर्खेतको भेरीगंगा नगरपालिका–६ घारीवन बस्ने ७३ वर्षीय शसी डाँगीलाई भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले डाँगीको गोठमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता, दाङको गढवा गाउँपालिका–८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मानसिंह सुनारलाई भरूवा बन्दुक १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोइलाबास, ईलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–१४ स्थित च्यानडाँडा जंगलबाट भरूवा बन्दुक १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी फुलासीबाट खटिएको गस्ती टोलीले देख्नासाथ २ जना अपरिचित व्यक्तिहरूले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

रूकुम (पूर्व)को भूमे गाउँपालिका–५ भेडाखर्क जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १० थान र बन्दुकको नाल १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व)बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 April 10, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया