एमालेले ६२ दिनको जिम्मेवारी लिनुपर्छ, गालीगलौजकाे राजनीति अन्त्य गरौँ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले देश अहिले अफ्ठ्यारो अवस्थामा रहेको भन्दै आर्थिक अवस्था कमजोर रहेको बताएका छन् ।

शनिबार काठमाडौंको कपनामा आयोजित कार्यक्रमहरूमा बोल्दै नेता खतिवडाले आर्थिक सूचकांकहरू राम्रो नरहेको बताए ।

उनले भने, ‘राजनीतिक दलका नेताहरूका बीच बेमेल छ । उप–निर्वाचनमा तिक्तताहरू देखिएको छ । एउटाले अर्कोलाई आरोपका कुराहरू गरेर हामी बस्दै छौँ ।’

‘मुलुक अफ्ठ्यारो अवस्थामा गएकोले सबै राजनीतिक दलका नेताहरूमा एकताको सन्देश दिनुपर्ने बेला छ’, उनले भने, ‘जसले गर्दा राष्ट्रियता दह्रो होस् । लोकतन्त्र बलियो हो । नेपालको अर्थतन्त्र कमजोर भएको बेला राजनीतिक दलहरू एक ठाउँमा भएर अर्थनीति दह्रो बनाउने उपायहरू अवलम्बन गरौँ ।’

उनले भने, ‘यो बेला एउटा पार्टीले अर्को पार्टीलाई गोली गरेर दोष लगाउने बेला छैन । नेताहरूले पनि आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको स्वार्थमा केन्द्रित हुनुपर्ने बेला भएको छ । मुलुक निर्माण हुने वातावरण सिर्जना गर्नुपर्छ ।’

‘पहिलो वर्गका नेताहरूले गालीगलौजको राजनीति अन्त्य गर्नुपर्छ’, नेता खतिवडाले भने, ‘सम्वादको राजनीति शुरु गरौं । सबै राजनीतिक दलहरू एक ठाउँमा बसेर मुलुक निर्माण गर्न सफल भयौं भन्ने उदाहरण दिऔं ।’

उनले भनेका छन्, ‘प्रतिपक्ष दलहरूले अहिले रडाको गर्नुपर्ने केही विषय छैन । भरखरै सत्ताबाट बाहिर जानुभएको छ ।

सरकार निर्माण भएको सय दिन भएको छ । एक सय दिनमा ६२ दिन नेकपा (एमाले) नै सरकारमा थियो । ६२ प्रतिशतको जिम्मेवारी एमालेले लिनुपर्छ । कांग्रेस सरकारमा सहभागी भएको ३८ दिन भयो । हामी ३८ प्रतिशत लिन तयार छौँ । सरकारलाई अहिले गाली गर्ने बेला हो कि होइन ?’

नेता खतिवडाले राजनीतिक दलहरूले चुनावका बेला जनताका सामु गरेको घोषणा पत्रको प्रतिवद्धताअनुसार लाग्नुपर्ने बताएका छन् ।

ज्ञानप्रसाद एकेडेमी र कुइभिर सेवा समाजले काठमाडौंमा गरेको अलग अलग कार्यक्रममा जेष्ठ नेतागरिकहरूलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा कांग्रेसका नेताहरू रुद्र अधिकारी, खेम मिश्र, कृष्ण खनाल, माओवादी नेता, निशान्त शर्मालगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2023 April 9, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया