झापामा प्रहरीद्वारा मानिसहरू पक्राउ, के थियो कसूर ?

काठमाडौं । प्रहरीले झापाबाट फरार रहेका अपराधीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–८ बस्ने ४१ वर्षीय वेदप्रसाद सेडाई, सोही नगरपालिका–३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका–७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् ।

वेदप्रसादलाई शुक्रबार र नगेन र पवनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये वेदप्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रूपियाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ आसार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

Published : Saturday, 2023 April 8, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया