नेपाली सेनामा रोजगारीको अवसर, कुन–कुन पदमा आवेदन खुल्यो ?

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा विज्ञापन खुलाएको छ ।

सेनाले प्राविधिक, हवाई, विविध सेवातर्फका पदीय तथा विल्लादार पदहरूमा गोरखापत्र दैनिकमा विज्ञापन जारी गरेर दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ ।

स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

बिक्रम संवत् २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय तोकिएको छ ।

सेनाले नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जना गरी १५५ जना माग गरेको छ ।

सेनाले दरखास्त दिन पुरूषका हकमा उचाइँ ५ फिट ३ ईञ्च तोकेको छ । महिलाको हकमा ५ फिट उचाइँ तोकिएको छ ।

त्यसैगरी, सेनाले उप–सेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले प्राड, प्राविधिक, हवाई, विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो । सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गरेको छ ।

१८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन् । उचाइँ भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ । भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने हुन्छ ।

१० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ । दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ ।

२०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिन्छ ।

Published : Friday, 2023 April 7, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया