पैसाको ओछ्यान बनाएर सुत्ने युवक ललितपुरबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले पैसालाई ओछ्यन बनाएर भिडियो बनाइ सामाजिक सञ्जालमा सेयर गर्ने युवकलाई पक्राउ गरेको छ ।

बिहीबार ललितपुर प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.–५ टीकाथली बस्ने सुलभ आचार्यलाई पक्राउ गरिएको हो ।

आचार्यले एक हजार र ५ सय दरका नोटहरू ओछ्यानमा बिछ्याएर सुतेको भिडियो बनाइ टिकटकमा राखेका थिए ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा झिकाई सोधपुछ गर्दा आचार्यले अध्यनको लागि बिदेश जाने क्रममा कलेजमा तिर्ने रकम सामाजिक सञ्जाल टिकटकमा पैसा देखाई भिडियो पोष्ट गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

राष्ट्र बैंकले बिभिन्न मितिमा संचार माध्यमबाट सूचना जारी गरी ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिहरूमाथी खोजी कार्य थालेको भन्ने समचार प्रकाशन पश्चात सो सम्वन्धमा ललितपुर प्रहरीको समेतको ध्यानाकर्षण भएको थियो ।

त्यस्तो कार्य गर्ने मानिसहरूको खोज तलास गर्दै जाँदा सामाजिक सञ्जाल टिकटक प्रयोग गरी एक हजार, पाँच सय दरका नोटहरू राखी फोटो भिडियो पोष्ट गर्ने आचार्यलाई पक्राउ गरिएको थियो ।

परिसरमा झिकाई सोधपुछ गर्दा अध्यनको लागि बिदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट पैसा निकाली रमाईलोको लागि खाटमा पैसा बिछ्याई भिडियो बनाएको भनि कागज गरेकोमा सो सम्वन्धमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा आचार्यलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको छ ।

Published : Thursday, 2023 April 6, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया