काठमाडौं–दिल्ली उडानमा ब्यागेज फुटेपछि छानविन, निगमको यस्तो आयो भनाइ

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडानमा ब्यागेज फुटेको विषयमा सामाजिक सञ्जालहरूमार्फत सम्बन्धित यात्रुले गरेको गुनासोका विषयमा छानविन गरिएको जनाएको छ ।

निगमका प्रवक्ता तथा उप–महानिर्देशक रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर यात्रुले ब्यागेज सकुसल नै जहाजमा लोड गरिएको र दिल्ली पुग्दा फुटेको पाइएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको आ.ए.२१७ काठमाडौं–दिल्ली २० मार्च २०२३ को उडानमा दिल्ली पुग्दा ब्यागेज फुटेको पाइएको विषयमा सामाजिक सञ्जालहरूमार्फत सम्बन्धित यात्रुले गर्नुभएको गुनासो सम्बन्धी छानविन गर्दा उपर्युक्त यात्रुको ब्यागेज सकुसल नै जहाजमा लोड गरिएको र दिल्ली पुग्दा फुटेको पाइएको व्यहोरा जानकारी गराउँदछौँ ।’

निगमले भनेको छ, ‘यससम्बन्धमा यदाकदा विभिन्न कारणले यस्तो अवस्था आउन सक्छ । जस्तै जहाजमा लोड गरिसकेपछि लोड गरिएकै अवस्थामा, जहाजको उडान भएको बेलामा हल्लिएर, लोड गरिएको ब्यागलाई अर्को ब्यागले थिचेको अवस्थामा, गन्तव्य स्टेसनमा अफलोडिङको समयमा वा अफलोडिङपछि कन्भेयर बेल्टमा समेत एक ब्यागमा अर्को ब्याग ठोक्किएर वा ब्यागेज पुरानो भएर, कम गुणस्तरको हार्ड कभर ब्याग हुँदा ब्यागेज टुट्ने फुट्ने अवस्था रहन्छ ।’

‘ब्यागेज टुट्फुट् भएको अवस्थामा सम्बन्धित यात्रुले भरेको गुनासो फर्मको आधारमा तत्काल छानविन पश्चात नियमानुसारको उपयुक्त क्षतिपूर्ति दिइने गरिएको व्यहोरा अनुराध गर्दछौं’, निगमका प्रवक्ता पौडेलले भनेका छन् ।

‘यात्रु वर्गहरूलाई ब्यागेज टुट्फुटको विवरण तत्कालै तोकिएको स्थान र कर्मचारीलाई सूचना दिनुहुन समेत अनुरोध छ’, निगमले भनेको छ ।

‘नेपाल वायुसेवा निगम यात्रु तथा ब्यागेजको सुरक्षाको लागि कटिबद्ध रहेको व्यहोरा अनुरोध गर्दै आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्दै शून्यमा पुर्‍याउने लक्ष्य रहेको जानकारीका लागि अनुरोध छ’, प्रवक्ता पौडेलले भनेका छन् ।

जहाजमा ब्यागेज चोरी हुने, टुट्फुट् हुने लगायतका घटना बेलाबेला हुने गरेका छन् ।

Published : Thursday, 2023 April 6, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया