सिद्धिचरण राजमार्ग र खरको छानोलाई लिएर रामहरिले सरकारलाई र्याखर्याख बनाए
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगा जिल्लाका सडक र घरको खरको छानोको समस्याका बारेमा सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले ओखलढुंगामा खरको छानो विस्थापित गर्ने कुरा कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेका छन् ।
उनले भने, ‘ओखलढुंगा जिल्लामा अहिले पनि खरको छाना भएका घरहरू चार हजारभन्दा धेरै छन् । सरकारले जस्तापाता उपलब्ध गराइदिने भनेर सपना बाँडेको धेरै भयो । कहिलेसम्म त्यो खरका छाना बिस्थापित गर्ने ? जानकारी चाहियो ।’
उनले सिद्धिचरण राजमार्गको दुरावस्था रहेको भन्दै मर्मत सम्भारको माग गरेका छन् ।
‘सिद्धिचरण राजमार्गअन्तर्ग घुर्मी–कटारी राजमार्ग ४७ किलोमिटर छ’, खतिवडाले भने, ‘मैले पहिला पनि सदनमा आवाज उठाएको थिएँ ।’
उनले भनेका छन्, ‘४७ किलोमिटर पार गर्न ६ घण्टा लाग्छ । प्रदेशको राजधानी जानका लागि ओखलढुंगा–खोटाङ र सोलुखुम्बुका जनताले कटारी–चतरा–घुर्मी राजमार्गको स्थापनालाई अगाडि बढाउनुपर्ने अगाडि बढाउन सकेका छैनन् । सरकारको ध्यान जाओस् ।’
कांग्रेस नेता खतिवडाले चितवनको रामपुर कृषि क्याम्पस खैरेनीमा चैत २७ गते भएको एकपक्षीय स्ववियु निर्वाचनको विरोध गरेका छन् । उनले क्याम्पसको निर्वाचन पुन: गर्न माग गरेका छन् ।
स्ववियुको निर्वाचन एकपक्षीय रुपमा गरि २४१ मा ११९ मत खसालेर नेविसंघका विद्यार्थीमाथि अन्याय गरेको उनले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया