टिप्परले गौमुखीकी २० वर्षीया गीताको ज्यान लियो, विंगरले स्कुटरलाई हान्दा सूर्यको मृत्यु

काठमाडौं । नुवाकोटसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनाहरूमा ९ जनाको मृत्यु भएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फुमा ना.१ ज.३९८४ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो दुर्घटना भएको छ । दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेहरूमा दुप्चेश्वर गाउँपालिका–४ बस्ने २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमायाँ तामाङ र सोही गाउँपालिका–७ बस्ने ४५ वर्षीया सानु कान्छी तामाङ रहेका छन् ।

दुर्घटनामा छिरिङ र मनमायाँको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएकी सानु कान्छीको त्रिशुली अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका अन्य ९ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ न्युरोडमा ग.१ ज ४५४० नम्बरको विंगर गाडीले ग.५ प ९४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–८ सृजना चोक बस्ने ५० वर्षीय सूर्य थकालीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विंगर गाडी चालकलाई प्रहरीले नियर्नणमा लिएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–१० वनकट्टीस्थित सडकमा लु.४ त १०१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय हरिराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानस्थित प्र.१–०१–००१ च ९३४९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा कारमा सवार झापाको बिर्तामोड नगरपालिका–१ बस्ने १८ वर्षीया रस्मी भुजेलको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–६ चोथानमा बा.४ ख ९७५ नम्बरको ट्रकले बा.९४ प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने काभ्रेको महाभारत गाउँपालिका–८ घर भएका २० वर्षीय राजु मगरको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको च्छो–रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्यूठानको प्यूठान नगरपालिका–७ टिकुरी बसपार्कस्थित सडकमा लु.२ क ३८८९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने २० वर्षीया गीता विश्वकर्माको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको जयपृथ्बी नगरपालिका–९ पक्किपुल बजारस्थित सडकमा सु.प.प्र.०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका–३ घर भएका धनबहादुर बोहराको छोरा ३ वर्षीय सरगम बोहराको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 April 1, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया