सूर्यविनायकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना, २४ वर्षीय युवकको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–९ पलासे महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सूर्यविनायक नगरअस्पताल हुँदै मध्यपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उता, तनहुँको भानु नगरपालिका–२ भकुन्थोकस्थित सडकमा बा.०३–००१ त २२६ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–२ बस्ने ४१ वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रे हुँदै भरतपुर मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कंकालिनी मन्दिर र कोशी ब्यरेजको बीचमा बा.१९ च ५५७६ नम्बरको कार अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा कारमा सवार सुनसरी इनरुवा नगरपालिका–५ बस्ने ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Saturday, 2023 April 1, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया