मीनभवन प्रहरीद्वारा सिन्धुपाल्चोकका भीमबहादुरलाई बालकोटबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले २८ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरूबाट ३० लाख ५० हजार रुपियाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुर बालकोट बस्ने तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई रकम ठगी भएका घटनामा तामाङलाई पक्राउ गरिएको छ ।

तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुरको बालकोट बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका–१ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका–१० प्रगती टोलबाट नियन्त्रित लागूऔषध स्पासपेन ३ सय ८६ ट्याब्लेट, ट्रमाडोल ३ सय ५० ट्याब्लेट र अवैध लागूऔषध गाँजा ६ सय ११ ग्रामसहित कानेपोखरी गाउँपालिका–५ बस्ने २८ वर्षीय आशिस राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरीले प्र १–०२–०४० प ९३८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2023 April 1, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया