राजेन्द्र महतो उप–निर्वाचनमा उम्मेदवार बन्ने, उपेन्द्र यादवको सातोपुत्लो उड्यो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो बाराको क्षेत्र नं. २ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

लोसपाले महतोलाई बारा क्षेत्र नं. २ बाट उप–चुनावमा उम्मेदवार बनाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । लोसपाको बाराले महतोलाई उम्मेदवार बनाउन माग गरेको छ ।

लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताएका छन् ।

बारा क्षेत्र नं. २ मा वैशाख १० गते निर्वाचन आयोगले उप–निर्वाचन गराउन लागेको छ । बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादव उप–राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली थियो ।

लोसपाका वरिष्ठ नेता महतो प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीको क्षेत्र नं. २ मा पराजित भएका थिए ।

महतोलाई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले हराएका थिए ।

जसपाले बाराको क्षेत्र नं. २ मा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । अध्यक्ष यादव प्रतिनिधि सभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं. २ मा पराजित भएका थिए ।

जसपाका अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले नराम्रोसँग हराएका थिए । प्रतिनिधि सभामा पराजित भएपछि अध्यक्ष यादवले सांसद बनेर संसद भवन छिर्न खोजेका छन् ।

जनमत पार्टीले पनि बारा क्षेत्र नं. २ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Published : Thursday, 2023 March 30, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया